सारांश
सामाजिक सञ्जालमा रहेको एउटा भिडियोमा दावी गरिएको छ कि पाकेपछि गिजाबाट रगत बग्ने र पिप निस्कने समस्यालाई चरी-अमिल जडीबुटी प्रयोग गरेर निको पार्न सकिन्छ। हामीले यो दाबीको अनुसन्धान गर्दा यो दाबी गलत भएको पायौं।

दाबी
Uddhav Ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्तिको आवाज सुन्न सकिन्छ । साथै भिडियोमा चरीअमिलो झारको दृश्य देखाइएको छ ।
भिडियोमा ती व्यक्तिले भनेका छन्- ‘आज मैले तपाईंहरुको दाँत सम्बन्धि, मुख सम्बन्धि, गिजा सम्बन्धि समस्या हुनेहरुको लागि राम्रो भिडियो ल्याएको छु । कसैको दाँत हल्लिराख्ने समस्या छ, कसैको गिजाबाट रगत आउने समस्या छ, पाकेर पिपै आउने समस्या छ भने यो चरीअमिलो गाँउघरमा जताततै पाइन्छ । तपाईंले यो आदी मुठी चरीअमिलो र यो अमिली झार यो पनि गाँउमै पाउँछ यो दुईवटालाई आदीआदी लिनुहोस र धुइपखाली गरेर कुटेपछि रस निस्किन्छ । रस आइसकेपछि चाहीँ एक चम्चा रस एक गिलास तातो पानीमा हालेर मज्जाले कुल्ला गर्नुहोस् । यो एक गिलास पानीले दश पन्ध्र मिनेट रोकी रोकी कुल्ला गर्नुहोस्, एक हप्तामा चट्ट निको हुन्छ ।’
तथ्य जाँच
चरीअमिलो झार भनेको के हो र यसको फाइदालाई कुन वैज्ञानिक प्रमाणले समर्थन गर्छ?
चरीअमिलो झार (Wood sorrels) का पातहरू सानो क्लोभर जस्ता देखिन्छन् । ती पातहरु अक्सालिक एसिडका कारण अमिलो स्वादका हुन्छन् ।
२०२० मा गरिएको अनुसन्धानले चरीअमिलो झार लाभदायक हुनसक्ने प्रकाश पारेको छ । यसले शरीरमा देखा परेका विभिन्न समस्यालाई रोकथाम गर्ने र शरीरलाई फाइदा पुर्याउन सक्छ । तर, दाँत र गिजामा देखिएका समस्याको उपचारमा चरीअमिलो झारको प्रयोग गर्नु उचित हुँदैन ।
के चरीअमिलो झारलाई मुख, दाँत र गिजाको कुनैपनि समस्या निको पार्न सम्भव छ?
चरीअमिलो झारलाई परम्परागत उपचारमा प्रयोग गर्ने गरिएको छ तर यसले मुख, दाँत र गिजाको कुनैपनि समस्या निको पार्छ भनेर प्रमाणित गर्ने ठोस वैज्ञानिक प्रमाणहरु फेला परेनन् ।
ब्याक्टेरियल इन्फेक्सनको कारणले गर्दा गिजा सुन्निने पाक्ने र पिप निस्कने समस्या निम्तिने गर्दछ । यसको उपचारमा सामान्यत: फोडा निकाल्ने, घाउ सफा राख्ने र संक्रमणसँग लड्न एन्टिबायोटिक प्रयोग गर्न सल्लाह दिइन्छ ।
दाँत, मुख र गिजा सम्बन्धि समस्याका लागि व्यावसायिक दन्त हेरचाह आवश्यक छ । घरेलु उपचार र जडीबुटी उपचारहरूमा मात्रै भर पर्दा अवस्था झनै बिग्रन सक्छ । उचित चिकित्सा हेरचाहको विकल्प होइनन्।

दिल्लीकी बीडीएस एवं एमपीएच डा. प्रियवामवाडाले मनतातो नुन पानीले कुल्ला गर्नाले गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न सकिने बताउँछिन् । उनका अनुसार चरीअमिलो झारको रसको प्रयोगले गिजामा जलन गराउन सक्ने उनको भनाई छ ।
डा. प्रियवामवाडा भन्छिन्- ‘यदि तपाईंको गिजाबाट रगत बगिरहेको छ भने मनतातो नुन पानीले कुल्ला गर्नु उचित घरेलु तरिका हुन सक्छ । चरीअमिलो झारसँग सावधान रहनुहोस्, किनभने यसमा ओक्सालिक एसिड हुन्छ, यसले खुला गिजाहरूमा जलन गर्न सक्छ । यदि तपाइँलाई दन्त फोडा देखिएको छ भने दन्त चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । फोडा एक गम्भीर संक्रमण हो र केवल एक दन्त चिकित्सकले संक्रमण र यसको पछाडिको मूल कारणलाई ठीकसँग उपचार गर्न सक्छ ।’
निष्कर्ष
चरीअमिलो झारको प्रयोगले मुख, दाँत र गिजाको कुनैपनि समस्या निको पार्छ भनेर प्रमाणित गर्ने कुनै ठोस वैज्ञानिक प्रमाणहरु फेला परेनन् । दाँत, मुख र गिजा सम्बन्धि समस्याका लागि व्यावसायिक चिकित्सकलाई देखाउनु आवश्यक छ । घरेलु उपचार र जडीबुटी उपचारहरूमा मात्रै भर पर्दा अवस्था झनै बिग्रन सक्छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
